नियम ९९
बेरुजु फछ्र्यौटको कारबाही गरी जवाफ दिने
(१) आन्तरिक लेखापरीक्षण वा अन्तिम लेखापरीक्षणबाट औल्याइएका कैफियत प्रतिवेदन र बेरुजुहरूको सम्बन्धमा सम्बन्धित लेखापरीक्षक वा लेखापरीक्षण गर्ने कार्यालयबाट पत्र लेखी आएपछि सो पत्रमा म्याद तोकिएको भए सो म्याद भित्र र नतोकिएकोमा पैंतीस दिन भित्र नियमित गर्नु पर्ने भए नियमित गरी आवश्यक प्रमाण पेश गर्नु पर्ने भए सो पेश गरी गराई वा असूल उपर गर्नु पर्ने भए असूल उपर गरी वा जवाफबाट प्रष्ट गर्नु पर्ने भए प्रष्ट जवाफ दिई बेरुजु फछ्र्यौट गर्नु पर्नेछ र त्यसको जवाफ लेखापरीक्षक वा लेखापरीक्षण गर्ने कार्यालयलाई पैतीस दिनभित्र दिनु पर्नेछ । कारोवार र प्रमाण सम्बन्धमा कुनै कुरा स्पष्ट गर्नु परेमा लेखा परीक्षकले बन्द सवाल गरी जवाफ तत्कालै लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बेरुजु फछ्र्यौट गर्न नभ्याएमा बेरुजु पत्र लेख्ने निकायमा कारण सहित म्याद माग्नु पर्नेछ र सो निकायले थप दिएको म्यादभित्र सो कार्य सम्पादन गरी बेरुजु फछ्र्यौट गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) मा उल्लेख भए बमोजिमको कारबाही र जवाफको बोधार्थ तालुक कार्यालयलाई दिनु पर्नेछ ।
(४) उपनियम (१) र (२) बमोजिम बेरुजु फछ्र्यौटको कारबाही नगर्ने तथा दिएको जवाफ पनि सन्तोषजनक नभएमा तालुक कार्यालय प्रमुखले ऐनको दफा ३३ बमोजिम जरिवाना वा सेवा सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कारबाही वा दुबै कारबाही गर्न सक्नेछ ।
(५) ऐनको दफा १९ को उपदफा (१) मा उल्लिखित समयभित्र सम्परीक्षण हुन
नसकी बा“की रहेका बेरुजुहरू लेखा उत्तरदायी अधिकृतले ऐनको दफा २३ बमोजिमको बेरुजु फछ््र्यौट समितिमा पेश गरी फछ्र्यौट गराई महालेखा परीक्षकको कार्यालयबाट लगत कट्टा गराउनु पर्नेछ ।
(६) ऐनको दफा २३ बमोजिमको बेरुजु फछ्र्यौट समितिबाट फछ्र्यौट गर्ने निर्णय भएको र केन्द्रीय तहसिल कार्यालयबाट असूल फछ्र्यौट भएको बेरुजुको जानकारी महालेखा परीक्षकको कार्यालयलाई दिई लगत फछयौट गर्नु पर्नेछ ।